काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हवाई उडान सञ्चालन गर्न ओमानसँग आग्रह गरेकी छन्।
परराष्ट्रमन्त्री राणाको निमन्त्रणामा सोमबार नेपाल आएका ओमानका विदेशमन्त्री सइद बदर हमाद हमुद अल बुसाइदीसँगको भेटमा मन्त्री राणाले यस्तो आग्रह गरेकी हुन्।
उनले पहिला पनि ओमानले भैरहवामा हवाई उडान सुरु गरेको र पछि बन्द गरेको भए पनि हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरूलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका आग्रह गरेकी छन्। यस विषयमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पुनः विचार गर्ने बताएका छन्।
भेटमा नेपालले हवाई कनेक्टिभिटी, श्रमसम्बन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवम् आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको छ।
मन्त्री डा.राणाले नेपाल र ओमानका दुवै तर्फका लगानी तथा अन्य आदानप्रदानका सम्भावना र चासोका धेरै विषयमा कुरा गरेको र दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको समेत बताइएको छ।