काठमाडौं । जलेश्वर–बर्दिवास सडक निर्माण शुरु भएको तीन वर्ष पुग्दा पनि २२ प्रतिशत मात्र पूरा भएको छ । सडक सुधार तथा विस्तार आयोजना (आरआइडिपी)ले सन २०१८ सालको डिसेम्बर अन्तिममा शिवालय दिवा जेभी नामक कम्पनीलाई ठेक्का दिएको सडक निर्माणको अवधि सकिन लाग्दा पनि २२ प्रतिशत मात्र काम भएको हो ।
सडक निर्माण अवधि ३६ महिनामध्ये ३३ महिना बितिसकेको छ । कोरोनाको संक्रमण र अन्य विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले काममा ढिलाइ हुन गएको बताइरहेको छ ।
दैनिक रुपमा नै उक्त सडक प्रयोग गर्ने स्थानीय र यात्रीहरू भने सडक निर्माणको काम नसकिँदा सास्ती भोग्न बाध्य छन् । निर्माण कम्पनीलाई सडक सुधार तथा विस्तार आयोजनाले थप १४ महिनाको म्याद दिएको छ । आयोजनाले पर्याप्त कारणहरू देखिएपछि सडक निर्माणको म्याद थपिएको बताएको छ ।