काठमाडौं। ४८० मेगावाटको फुकोट कर्णाली आंशिक जलाशय (पीआरओआर) जलविद्युत् आयोजनाको काम विगत ८ महिनादेखि रोकिएको छ। भारतीय कम्पनीलाई बढी शेयर स्वामित्व दिइएको भन्दै सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन रहँदा आयोजनाको काम ८ महिनादेखि अघि बढ्न नसकेको हो।
कालिकोटमा निर्माण चरणमा रहेको आयोजनामा उत्पादन कम्पनी भीयूसीएलको ४९ प्रतिशत र भारतीय कम्पनी एनएचपीसी लिमिटेडको ५१ प्रतिशत शेयर स्वामित्वमा हुने गरी सम्झौता भएको थियो।
उक्त सम्झौता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले गत पुस २० गते अन्तरिम आदेश दिएपछि आयोजनाको काम ठप्प भएको हो।
आयोजनाको काम अगाडि बढाउन नसक्दा सम्झौता भएको १८ महिनाभित्र पूरा गर्नुपर्ने विद्युत् खरिद सम्झौता (पीपीए), वित्तीय व्यवस्थापन, संयुक्त कम्पनी स्थापनालगायत धेरै काम अगाडी बढ्न सकेको छैन। त्यसैगरी आयोजनाबाट हुने अर्बौँ रुपैयाँ आम्दानी पनि राज्यले गुमाउनु पर्ने अवस्थामा पुगेको छ।