काठमाडौं। रिन्यु जेन रिसोर्सेस नेपालले पेट्रोल र हाइड्रोजन दुबैबाट चल्ने कारको इन्जिन निर्माण गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा उक्त कारको शुभारम्भ गरेका हुन्।
मन्त्री दाहालसँगै सांसद ठाकुर गैरे, पूर्वमन्त्री कर्णबहादुर थापा लगायत कारमा चढेर केहीबेर यात्रा समेत गरे।
रिन्यु जेन रिसोर्सेस नेपालले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक र बेलायतको एक विश्वविद्यालयसँग सहकार्य गरी पेट्रोल र हाइड्रोजन दुबै इन्धनबाट चल्ने इन्जिनको विकास गरेको हो।
दुबै प्रकारका विकल्प सहितको कारको प्रविधिलाई ‘डुअल मोडल हाइड्रोजन कम्बसन इन्जिन’ नाम दिइएको छ।