काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलविद्युत् आयोजना निर्माणका अवरोध हटाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का प्रतिनिधिहरूसँगको भेटमा सभापति देउवाले जलविद्युत् आयोजना निर्माणमा वन क्षेत्रका समस्याहरु समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।
भेटमा इपानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले जलविद्युत् आयोजनाको निर्माण पहाडी र हिमाली क्षेत्रमा मात्रै हुने र ती क्षेत्र कुनै न कुनै निकुञ्ज वा संरक्षण क्षेत्र पर्नेहुँदा ठूला ठूला आयोजना समेत अन्योलमा परेको बताए।
उनले ती क्षेत्रमा पहिचान गरिएका १८ हजार मेगावाट क्षमताका २०० बढी जलविद्युत् आयोजनाको भविष्य अन्येलमा परेको सभापति देउवालाई जानकारी गराएका हुन्। प्रतिक्रियामा देउवाले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।