काठमाडौं। नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्न त्रिपक्षीय सम्झौता हुने भएको छ। नेपाल, भारत र बंगलादेशबीच विद्युत निर्यात सम्बन्धमा असोज १७ गते (बिहीबार) सम्झौता हुने भएको हो।
नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) तथा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता (पीएसए) हुनेछ। नेपालबाट बंगलादेशमा विद्युत निर्यात गर्दा भारतको प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले त्रीपक्षिय सम्झौता गर्नुपर्ने भएको हो।
सम्झौतामा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मोहम्मद रेजुल करिम तथा एनभीभएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेनु नारंगले हस्ताक्षर गर्ने भएका छन्।
गत जुलाईमा नै त्रिपक्षीय सम्झौता हुने गरी मिति तय भएको थियो। बंगलादेशमा भएको राजनीतिक परिवर्तनका कारण उक्त सम्झौता रोकिएको थियो। बंगलादेशको सरकार परिवर्तन भएसँगै विद्युत निर्यात सम्झौता के हुने हो भन्ने अन्योल समेत बढेको थियो। तर नयाँ अन्तिरिम सरकारले पनि नेपालबाट विद्युत आयात गर्ने कुरामा सकारात्मक भएसँगै सम्झौताको प्रकृया अगाडी बढेको हो।