काठमाडौं। नेपालबाट २ साताभित्रै ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात हुने भएको छ। बंगलादेशमा विद्युत निर्यातका लागि बिहीवार काठमाडौंमा एक समारोहबीच त्रिपक्षिय सम्झौता भइसकेको छ। सोही सम्झौता अनुसार अबको दुई साताभित्र बंगलादेशमा विद्युत निर्यात हुने भएको हो।
बाढीपहिरोका कारण हाम्रो उत्पादनमा केही हदसम्म असर परेको भए पनि केही दिनका लागि मात्रै भए पनि २ साताभित्रै बंगलादेशमा विद्युत् बेचिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। हस्ताक्षर कार्यक्रममा बोल्दै घिसिङले नेपालले ५ महीनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात गर्ने बताए। उनका अनुसार विद्युत् विक्रीबाट वर्षमा नेपालले ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी गर्नेछ।
बिहीबार भएको सम्झौता कार्यक्रममा नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको तर्फबाट एनटीपीसी विद्युत् व्यापार निगमकी प्रमुख कार्यकारी अधिकृत रेणु नारङ तथा बंगलादेशका तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।