बाँके । समयमै मर्मतसम्भार नहुँदा नेपालगञ्ज–कोहलपुर–वीरेन्द्रनगर जोड्ने रत्न राजमार्ग जीर्ण बन्दै गएको छ । कालोपत्रे गरिएको लामो समयसम्म पनि राजमार्गको मर्मत सम्भार नहुँदा जताजतै खाल्डाखुल्डी परेको छ ।
खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ । कर्णाली प्रदेशका लागि लाइफलाइनको रुपमा रहेको यो सडक प्रदेशको राजधानी वीरेन्द्रनगरलाई तराई तथा बाँकी नेपालसँग जोड्ने राजमार्ग हो । यो राजमार्ग नै जीर्ण बन्दा दैनिक हजारौं यात्रीले कष्टकर यात्रा गर्नु परेको छ । वीरेन्द्रनगरदेखि कोहलपुरसम्म ११५ किलोमिटर लामो यो सडक अन्तर्गत कोहलपुर चिसापानीदेखि सुब्बाकुना खण्डको ठाउँ–ठाउँमा कालोपत्रे भत्किएको छ ।
सुब्बाकुनादेखि बाङ्गेसिमलसम्मको सडकखण्ड वीरेन्द्रनगर उपत्यका क्षेत्रभित्र पर्दछ । प्रदेश राजधानीसमेत रहेको यो क्षेत्रमा पर्ने सडकमा जताजतै खाल्डै–खाल्टामात्र छन् । प्रदेश राजधानीको मुख्य सडकखण्डकै हालत यस्तो छ भने अन्य ठाउँको अवस्था त यो भन्दा कयौँ गुना नाजुक छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिहरुले दैनिक ओहोर–दोहोर गर्ने यो सडकखण्डको मंगलगढी चोक, बसपार्क, दैलेख चोक, खजुरादेखि पीपिरा क्षेत्रका दर्जनौँ ठाउँमा खाल्टैखाल्टा छन् । जसले गर्दा सवारी साधनका टायर र अन्य पार्टपूर्जासमेत धेरै नटिक्ने, सवारी दुर्घटना बढाउने गरेको यातायात व्यवसायीहरुको भनाइ छ ।