काठमाडौं। तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम हालसम्म आधा भन्दाबढी सम्पन्न भएको छ। आयोजनाका अनुसार तनहुँ जलविद्युत् आयोजनाको हालसम्म भौतिक प्रगति ५८.१ प्रतिशत र वित्तिय प्रगति ५२.०७ प्रतिशत पूरा भएको हो।
तीन प्याकेजमा काम भइरहेको आयोजनाको पहिलो प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत र प्यानमति विद्युत्गृह निर्माणमा ५९ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ। प्याकेज–२ को विद्युतगृह निर्माणको काम हालसम्म ५९ प्रतिशत पूरा भएको छ। त्यसैगरी प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७३.५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ।
तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य ६ वर्षमा सम्पन्न गर्नेगरी वि सं २०७१ मा सुरु भएको थियो। निर्माण कार्य सुरु भएको १० वर्ष पुग्दा आधा मात्र काम पूरा भएको छ।