बाजुरा। बाजुराको सदरमुकाम मार्तडीमा विद्युत सेवा पुगेपनि यहाँका मानिसले राम्रोसँग उपभोग गर्न पाएका छैनन्। मासिकरुपमा विद्युतको महसुल तिर्ने स्थानीयले विजुली बत्ती भने राम्रोसँग कुनै दिन बाल्न पाएका छैनन्।
मार्तडीमा सञ्चालित त्रिवेणी साना जलविद्युत् केन्द्रले विद्युत् उत्पादन गर्न नसक्दा दैनिक विद्युत् अनियमित हुँदै आएको छ। वर्षायाममा बाढीले विद्युत नहर भत्काउने र हिउँदमा नहरमा पानी अभावको समस्या दर्शाउँदै साना जलविद्युत् केन्द्रले बत्ती नियमित रूपमा नदिएको सेवाग्राहीको गुनासो छ।
जीर्ण मेसिनले विद्युत् उत्पादन कम हुने गरेको र क्षमताभन्दा बढी ग्राहक बनाउँदै लाइन विस्तार गर्ने गरेकाले जिल्ला सदरमुकामका स्थानीयवासीले नियमितरूपमा बत्ती बाल्न पाएका छैनन्। उनीहरूले विद्युत अनियमितताका कारण हैरानी खेप्दै आएका छन्। विद्युत् नियमित नआए पनि महसुल भने मासिक रूपमा उठाउने गरेको बडीमालिका नगरपालिका–३ रजालीका स्थानीय भीमबहादुर रावलले बताए।
विद्युत् नआएका बेला पनि साना जलविद्युत् केन्द्रले मासिक रूपमा मिटर रिडिङ गर्दै महसुल चुक्ता गर्ने गरेको अर्का एक स्थानीयले गुनासो गरे। विद्युत् केन्द्रले मेसिन पनि खरिद नगर्ने र पुरानै मेसिन मर्मत गर्दै काम चलाउरूपमा विद्युत् सञ्चालन गरेको उनीहरुको आरोप छ।
त्रिवेणी सहकारीले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेर सञ्चालन गरिएको विद्युत्को पुरानै अवस्थामा भएका कारण विद्युत् नियमित हुन नसक्दा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय र विभिन्न सञ्चारमाध्यम मारमा परेका छन्। त्रिवेणी साना जलविद्युत् केन्द्रले उपभोक्ताको मागअनुसार विद्युत् आपूर्ति गर्न सकेको छैन। जीर्ण अवस्थामा रहेको मेसिनले क्षमताभन्दा बढी विद्युत् उत्पादन गर्न नसक्ने भए पनि विद्युत् सञ्चालक समितिले भने उपभोक्ता बढाउँदै गएको छ।