काठमाडौं। पर्वतको विहादी गाउँपालिकामा बहुउद्देश्यीय कालीगण्डकी जलाशय जलविद्युत् आयोजना निर्माण गरिने भएकाे छ। ६४० मेगावाटको आयोजना दुई खर्ब भन्दा बढी लागतमा निर्माण गर्न लागिएकाे हाे।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागको प्रस्तावमा तयार पारिएको वातावरण प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनको मस्यौदामा परियोजना सम्पन्न गर्न २ खर्ब २४ अर्ब ६५ करोड रूपैयाँ लागत अनुमान गरिएको हो।
पर्वतको विहादी गाउँपालिकामा निर्माण हुने आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माणका बारेमा सार्वजनिक सुनुवाइ समेत भइसकेकाे छ। सुनुवाइमा आयोजनाको कुल लागत, यसले ओगट्ने क्षेत्रफल, प्रभावित क्षेत्रलगायतबारे संक्षिप्त प्रतिवेदन सार्वजनिक गरिएको छ । जसमा आयोजनाका कारण ४ जिल्लाका ३२ वडा प्रभावित हुने उल्लेख छ । पर्वत, बागलुङ, स्याङ्जा र गल्मीका ७ पालिका यसका प्रभावित क्षेत्र हुन् ।