काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यसम्पादन विवरण बुझाएका छन्। उर्जा मन्त्रालयबाट गत सोमबार घिसिङलाई स्पष्टीकरण सोधेपछि उनले आज कार्यसम्पादन विवरण पेस गरेका हुन्।
उनले गत आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन विवरणमा ९८.९९ प्रतिशत अंक दाबी गरेका छन् ।
प्राधिकरणको बोर्डको बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर सरकारलाई अवज्ञा गरेको, सरकारले सोधेका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको र आफ्नो कार्यसम्पादन मूल्यांकनसमेत समयमा नबुझाएको आरोपसहित अब ‘तपाईंको नियुक्ति नै अन्त्य किन नगर्ने’ भन्दै एक साताको म्याद दिएर घिसिङलाई पत्र काटिएको थियो । उक्त पत्रपछि घिसिङले आज विवरण पेस गरेका हुन्।