काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ। महासंघ र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको वार्ता सकारात्मक भएको भन्दै महासंघले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको हो।
माघ १६ गते प्रधानमन्त्री र महासंघ प्रतिनिधिमण्डलबीच भएको छलफलका क्रममा महासंघका मागहरू सम्बोधन गर्नका लागि प्रधानमन्त्रीबाट एक कार्यदल गठन गर्न निर्देशन भई सकारात्मक रुपमा उक्त छलफल टुङ्गिएकाले तत्कालका लागि महासंघबाट घोषित आन्दोलनका पूर्व घोषित सबै कार्यक्रमहरू स्थगित गरेको महासंघले एक विज्ञप्ती मार्फत जानकारी दिएको छ।
निर्माण द्योगमा देखिएका विद्यमान समस्याहरूका विषयमा छलफल गरी भावी रणनीति तय गर्न यस महासंघको आयोजनामा मिति २०८१ पुष २७ गते राष्ट्रिय भेला आयोजना गरी १४ बुँदे माग सहित महासंघले आन्दोलन गर्ने घोषणा गरेको थियो। आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार माघ १५ को अल्टिमेटम सहित प्रदेश निर्माण व्यवसायी महासंघहरूले सम्बन्धित् प्रदेशका मुख्यमन्त्रीहरू तथा जिल्ला निर्माण व्यवसायी संघहरूले सम्बन्धित् जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू समक्ष ज्ञापन पत्र पेश गर्ने तथा केन्द्रमा महासंघले प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रमुख राजनीतिक दलका नेताहरू, विभिन्न समितिका सभापतिहरू लगायतलाई ज्ञापन पत्र बुझाउने कार्य समेत सम्पन्न भएको छ। बधबार प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएसँगै महासंघले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको जनाएको छ।