बिहीबारदेखि चार दिनसम्म वर्षा हुने पूर्वानुमानपछि सरकारले सम्भावित जोखिम क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। धेरै वर्षा हुने आकलन गरिएको गण्डकी र लुम्बिनी प्रदेशमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाल प्रहरीले देशभर ६४९ स्थानलाई जोखिमपूर्ण पहिचान गरेको छ। नदी तटीय क्षेत्रमा माइकिङ गर्दै बागमतीका रोशी, सुनकोशी, त्रिशूली, इन्द्रावती तथा मधेसका विभिन्न खोलाका किनारमा पूर्वसूचना दिन थालिएको छ।
सशस्त्र प्रहरीका ११ हजार ७६३ सुरक्षाकर्मी जोखिमपूर्ण क्षेत्रमा परिचालन गरिएका छन्। उद्धारका लागि ८२ वटा र्याफ्ट बोट, ५३ वटा मोटर बोट, तालिमप्राप्त गोताखोर र मेडिकल टोली तयारी अवस्थामा राखिएका छन्।
त्यस्तै, जोखिमपूर्ण क्षेत्रमा ड्रोनमार्फत खोज तथा उद्धार गर्न सक्ने टोलीसमेत परिचालन गरिएको छ। मधेसका ७४ र काठमाडौं उपत्यकाका ५२ स्थान जोखिमपूर्ण पहिचान गरिएका छन्।
मौसम ११ गतेसम्म सक्रिय रहने आकलन गरिएकाले त्यस अवधिसम्म सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिने जनाइएको छ।