पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेका ६६ घर पूर्ण रूपमा बगाएको छ। बाढीका कारण थप २३ घर उच्च जोखिममा परेका छन्।
सशस्त्र प्रहरी बल नेपालका अनुसार उच्च जोखिममा रहेका घरमा बस्न सक्ने अवस्था नरहेकाले त्यहाँ रहेका नागरिकका सरसामान सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ चण्डिका गण पर्वतसहित अन्य सुरक्षा निकायका टोली उद्धार तथा व्यवस्थापनमा निरन्तर खटिएका छन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा आवश्यक उद्धार र व्यवस्थापनको काम भइरहेको जानकारी दिए।