काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार नियुक्त श्रेष्ठले प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कार्यभार सम्हालेका हुन्।
पदभार ग्रहण गर्दै श्रेष्ठले बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सेवा प्रवाहमा सुधार र आन्तरिक विद्युत् खपत बढाउनुलाई मुख्य प्राथमिकता बनाउने बताए। उनले प्राधिकरणका सेवा र कामलाई विकेन्द्रीकरण गरी प्रदेश तथा जिल्ला कार्यालयलाई अधिकार सम्पन्न बनाउने घोषणा गरे।
श्रेष्ठले सन् २०३५ सम्म प्रतिव्यक्ति विद्युत् खपत १ हजार ५ सय युनिट पुर्याउने लक्ष्यअनुसार वितरण तथा प्रसारण प्रणालीमा लगानी बढाउने बताए। संस्थाको वित्तीय स्वास्थ्य सुधारमा समेत ध्यान दिने उनको भनाइ छ।
२०५१ सालदेखि प्राधिकरणमा कार्यरत श्रेष्ठले उत्पादन, प्रसारण र वितरण क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै चुनौती सामना गर्न कर्मचारीको साथ लिएर अघि बढ्ने प्रतिबद्धता जनाए।