काठमाडौं। काठमाँडौं उपत्यकाका विभिन्न ठाउँमा आजदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कार्यका लागि फरक फरक दिन केही ठाउँमा विद्युत सेवा बन्द गर्ने भएको हो।
प्राधिकरणले सूचना जारी गर्दै आजदेखि यही माघ २९ गतेसम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
प्राधिकरणले कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय लाइन भूमिगत गर्न लागेको छ । सोही अनुसार २९ गतेसम्म ती क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत सेवा अवरुद्ध गर्न लागिएको हो ।
प्राधिकरणका अनुसार आज टंगाल वितरण केन्द्रअन्तर्गत भत्केको पुलको क्षेत्र, मंगलबार कलंकी फिडरअन्तर्गत कलंकी मालपोत कार्यालय आसपास, बुधबार बालकुमारी, इमाडोल तथा लुभु वरिपरिको क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।
यस्तै बिहीबार नैकापदेखि बलम्बुसम्मको क्षेत्र, २५ गते शुक्रबार बल्खु चोकदेखि चोभार गेटसम्मका क्षेत्र, २७ गते बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्म, २८ गते गोशाला चोकदेखि पुरानो बानेश्वरसम्म र २९ गते रोतोपुलदेखि गौशालासम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।