काठमाडौं। टनकपुर बाँधमा चाँडै पानी छोड्ने विषयमा भारत र नेपालबीच सहमति भएको छ। ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर बिहीबार साँझ स्वदेश फर्किएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारत भ्रमणका क्रममा टनकपुर बाँधमा चाँडै पानी छोड्ने विषयमा सहमति भएको बताएका हुन् ।
मन्त्री खड्काले भने, ‘‘सिँचाइतर्फ हाम्रा ठुला आयोजनाहरु पञ्चेश्वरलाई अगाडि बढाउने छलफल भयो र एक हिसावको सहमति अगाडि बढेको छ । अब चाँडै सम्माननीय प्रधानमन्त्रीहरुको बैठकमा अन्तिम टुङ्गो लाग्ने हिसाबले हाम्रो छलफल भएको छ । कोशीको विषयमा पनि केही छलफल भएका छन् । टनकपुरमा छोड्नुपर्ने अहिलेसम्म सहमति भएको, वर्षअघि नै निर्माण भइसकेको तर पानी नछोडिएको अवस्थालाई चाँडै नै पानी छोड्ने सहमति भएको छ ।’’
उनले सिँचाइतर्फ पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेबारेमा अन्तिम टुङ्गो लगाउनेबारे छलफल भएको पनि जानकारी दिए । उनले कोशीको विषयमा पनि केही छलफल भएको बताए ।