काठमाडौं। पाइप लाइनबाट ल्याई बाराको अमलेखगन्जमा भण्डारण गरिएको पेट्रोल वितरण गर्न सुरु गरिएको छ। पाइप लाइनमार्फत आएको पेट्रोल विराटनगर, पोखरा र जनकपुरको ट्याङ्करलाई लोड दिन सुरु गरिएको नेपाल आयल निगम मधेश प्रदेश कार्यालयले जानकारी दिएको हो।
मोतीहारीदेखि पाइप लाइनबाट आयात गरिएको पेट्रोल अमलेखगन्जमा भण्डारण गरिन्छ । पाइप लाइनबाट ल्याएको पाँच हजार पाँच सय किलोलिटर पेट्रोल वितरण सुरु गरिएको कार्यालयले जनाएको छ । बजारको आवश्यकताका आधारमा पेट्रोल आयात भइरहेको छ । यसअघि डिजेल मात्र आयात गरिँदै आएकोमा अब पाइप लाइनबाट पेट्रोल र मटितेलसमेत ल्याउन थालिएको कार्यालयले जनाएको छ ।
पाइप लाइनबाट प्रतिदिन छ हजार किलोलिटर पेट्रोल ल्याउन सक्ने क्षमता रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पाइप लाइनबाट प्रतिघण्टा तीन सय किलोलिटरका दरले इन्धन ल्याउन सक्ने क्षमता भए पनि हाल परीक्षण ढुवानी प्रतिघण्टा १५० देखि २५० किलोलिटरका दरले भइरहेको छ । पेट्रोल आउन थालेपछि दक्षिण एसियामै पहिलो अन्तरदेशीय पाइप लाइन नेपाल–भारतको सीमामा मोतीहारी–अमलेखगञ्ज पाइप लाइन पूर्ण रूपमा सञ्चालनमा आएको छ ।