काठमाडौं। ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–४ खाम्लाका अध्यक्ष प्रेमप्रसाद पुनले बुधबार बाँधको ढलान गर्ने कार्यको शुभारम्भ गरेका हुन्।
म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो ।
जग्गा व्यवस्थापनको काम सकेर म्याग्दी नदीको दायाँतर्फ ढलान गरेर औपचारिक रूपमा बाँधको पक्की संरचना निर्माण सुरु गरिएको आयोजनाले जनाएको छ।
बाँध निर्माणस्थलनजिकै १०० मिटर लामो र १५ मिटर अग्ला तीनवटा पानी थिग्राउने पोखरी निर्माण गर्न जग्गा व्यवस्थापन भइरहेको छ ।