काठमाडौं। नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माणस्थलको निरीक्षण गरेका छन्। निर्देशक घिसिङसहित चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा मध्यभोटेकोशी जलविद्युत् कम्पनी सञ्चालक समितिका अध्यक्ष सुवासकुमार मिश्र सम्मिलित टोलीले शनिबार आयोजनास्थलको निरीक्षण गरेका हुन्।
टोलीले प्रसारण लाइन, सबस्टेसन तथा निर्माण प्रगतिको अवस्थाबारे जानकारी लिएको छ। निरीक्षणपश्चात कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीले खिम्ती–बाह्रबिसे प्रसारण लाइनलाई दुई केभीमा चार्ज गर्न बाँकी कामहरू शीघ्र पूरा गर्न निर्देशन दिएको छ । टोलीले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ चौकटामा जारी तार तान्ने कार्यको निरीक्षणसमेत गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको भूमिका महत्वपूर्ण हुने भएकाले दुवै आयोजना संवेदनशील रहेको उल्लेख गर्दै निर्माणलाई तीव्रता दिन निर्देशन दिए । दुवै आयोजनाको काम एक महिनाभित्र सम्पन्न गर्न उनले निर्देशन दिएका छन्।