काठमाडौं। २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत् आयोजनाले २२० केभी विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मा निर्माणाधीन आयोजनाले आयोजनाको स्विचयार्डदेखि फक्ताङलुङ गाँउपालिका–१ हुँदै मिक्वाखोला गाँउपालिका–२ मा रहेको ७३ मेगावाटको मध्य–तमोर जलविद्युत् आयोजनाको स्विचयार्डसम्म ४.७ किमि लामो प्रसारण लाइन निर्माण गर्न लागेको हो।
प्रसारण लाइन निर्माणका लागि अनुमति माग्दै प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको छ । कुल १३ वटा टावरहरू निर्माण गरिने प्रसारण लाइनअन्तर्गत आल्मुनियम कन्डक्टर्स स्टील रिइन्फोर्ड (एसिएसआर) ‘बिसिअन’ प्रकृतिका कन्डक्टर जडान गर्ने भएको हो।
प्रसारण लाइनअन्तर्गतका टावरहरूको उचाइ ५२.२८ मिटरसम्म रहने तथा टावरहरू बिचको औसत दूरी ३५० मिटर हुनेछ । प्रसारण लइन आयोजनाको निर्माण कार्य ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य प्रवर्द्धक कम्पनीले राखेको छ ।