काठमाडौं। बुढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवन्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो ।
बाँध निर्माणस्थल रहेको वडा नं ३ को सल्लेरीका बस्ती क्षेत्रमा रहेका जग्गाको प्रतिआना तीन लाख रुपैयाँ मुआब्जा कायम गरिएको छ । चार आनाभन्दा कम जग्गा हुनेको हकमा भने प्रतिआना चार लाख र बस्तीभन्दा बाहिर प्रतिआना एक लाख ५० हजार रुपैयाँ मुआब्जा निर्धारण भएको छ । करिब ८० रोपनीको मुआब्जा दिनुपर्ने आंकलन गरिएको छ ।
भेलाले घरको मूल्याङ्कन भने गरेको छैन । गाउँपालिकाका प्राविधिकले तयार गरेको प्रतिवेदनका आधारमा घरको मुआब्जा निर्धारण हुने बताइएको छ। आयोजनाबाट २६ घरधुरी विस्थापित हुने भएका छन् । विस्थापित हुनेहरुको पुनःस्थापनाका विषयमा पनि छलफल भइरहेको गाउँपालिकाले जनाएको छ ।
अर्धजलाशययुक्त प्रविधिको ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत परियोजना निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो परियोजना हो । यसको कुल लागत ७० अर्ब रुपैयाँ रहेको छ ।