काठमाडौं। सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ। टावर खडा गर्ने र तार टाँग्ने काम शनिबार सकिएसँगै आयोजनाको निर्माण सम्पन्न भएको हो।
विभिन्न समस्या झेल्दै रुग्ण बनेको प्रसारण लाइनको निर्माण सम्पन्न भएकाले अब एक महिनाभित्रमा चार्ज गरी सञ्चालनमा ल्याइने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
विविध कारणले गर्दा प्रसारण लाइन निर्माणमा ढिला भएको थियो। घिसिङले भने, ‘प्रसारण लाइन चार्ज भएपछि एकातर्फ त्यस क्षेत्रमा निजी क्षेत्रका निर्माणाधीन आयोजनाहरुको विद्युत राष्ट्रिय ग्रिडमा जोडिने छ भने अर्कोतर्फ त्यस क्षेत्रमा विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेका साथै विद्युत चुहावट पनि घट्ने छ।’
सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत्लाई सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रीडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भएको हो।
प्रसारण लाइन सञ्चालनमा आएपछि २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजना जोडिने छ। उक्त करिडोर प्रसारण लाइन आयोजना निर्माणमा धेरै ठूला–ठूला समस्याहरु झेल्नु परेको भएतापनि अहिले निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ।
प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो।