काठमाडौं । भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन् । दुईदिने नेपाल भ्रमणमा रहेका भारतका मन्त्री खट्टरले नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कासँग आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।
आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत निरीक्षण गर्दै निर्माणको प्रगतिबारे ठेकेदार कम्पनीसँग जानकारी लिएको मन्त्री खड्काको सचिवालयले जनाएको छ ।
सो अवसरमा दुवै मन्त्रीले आयोजना अन्तर्गतको ’युनिट–२’को संयुक्त रूपमा उद्घाटन गर्नुका साथै पावर हाउसनजिक वृक्षरोपण पनि गरेका छन् । ऊर्जामन्त्री खड्काले नेपालका लागि अरुण तेस्रो आयोजना विशेष प्राथमिकतामा रहेको भन्दै निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।