काठमाडौं । गण्डक जलविद्युत केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द गरिएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीस्थित गण्डक व्यारेजबाटै नहरको पानी बन्द भएपछि विद्युत् उत्पादन बन्द भएको हो ।
भारतले जलविद्युत् केन्द्रको नहर बन्द गरेपछि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ । गत फागुन २६ गतेदेखि नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको थियो ।
नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ । यसअनुसार भारतको उतर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहरमा सरसफाई तथा मर्मत भइरहेको जनाउँदै नहरमा पानी बन्द गरेपछि विद्युत् उत्पादन बन्द रहेको आयोजनाले जनाएको छ ।