काठमाडौं । काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयमा दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । कार्यालयमा शौचालयबाट उत्पादन भएको फोहोर पानी प्रशोधन गर्न बिजुलीबाट चल्ने एरोबिक र एनएरोबिक दुवै विधिबाट चल्ने प्लान्ट स्थापना गरिएको गरिएकाे हाे ।
ट्रिटमेन्ट प्लान्टकाे लागत करिब २० लाख रुपैयाँ रहेको छ। ‘यो नमूना योजना हो, यसको नतिजा हेरेर विस्तार गर्नेछौँ,’ कार्यक्रमका बारेमा जानकारी दिँदै वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले भनिन, ‘काठमाडौँको स्वच्छताका लागि घरेलु फोहर व्यवस्थापनसँगै तरल फोहर व्यवस्थापन आवश्यक छ, सानातिना एकाइमा यसको प्रयोगलाई अहिले हामीले परीक्षण गरेका हौँ ।’
‘३ दशमलव ६० मिटर लम्बाइ, १ दशमलव २० मिटर चौडाइ र १ दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र ४ वटा च्याम्वर छन्,’ वरिष्ठ इञ्जिनियर निशा कोइरालाले प्रणालीको प्राविधिक पक्षका बारेमा जानकारी दिँदै भनिन, ‘शौचालयबाट केही ठोससहितको फोहर पानी प्लान्टमा पुगेपछि पहिले सेडिमेन्टेसनबाट तरल र ठोस छुट्टिन्छ । त्यसपछि एनएरोविक विधि (अक्सिजन दिनु नपर्ने विधि) बाट प्रशोधन सुरु हुन्छ । तेस्रो चरणमा एरोविक (अक्सिजन दिनु पर्ने विधि) बाट, चौथो चरणमा फिल्ट्रेसन र डिस इन्फेक्सन गरिन्छ । यसबाट उत्पादन हुने पानी दुर्गन्धरहित हुन्छ । बोटविरुवामा हाल्न मिल्ने हुन्छ ।’