सोलुखुम्बु। सोलु खोला दूधकोशी जलविद्युत आयोजनाका दुई मजदूरको मृत्यु भएको छ। थुलुङ दूधकोशी गाउँपालिका ३ पन्चनमा रहेको ८६ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाका दुई मजदूरको मृत्यु भएको हो।
शनिबार दिउसो फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएर दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको आयोजनाले जनाएको छ।
मृत्यु हुनेमा अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापा रहेको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए। पाइप पड्किएर बेहोस भएका उनीहरुलाई ओखलढुङ्गा अस्पताल पुर्याउनासाथ मृत घोषणा गरिएको बताइएको छ।
घाइते एक मजदूरलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको बताइएको छ। उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।