पर्सा। पर्साको धोबिनी गाउँपालिका–२ को भिखमपुर अस्पतालमा निर्माण गर्न लागिएको भवनको काम शुरु नहुँदै निर्माण कम्पनीलाई रकम भुक्तानी गरिएको छ। सार्वजनिक खरिद ऐन विपरीत गाउँपालिकाले निर्माण कम्पनीलाई काम शुरु नहुँदै एक करोड ८० लाख रकम भुक्तानी गरेको हो।
१० करोडको लागतमा निर्माण गर्न लागेको १५ शैयाको अस्पतालको निर्माणका लागि निर्माण कम्पनीलाई काम शुरु हुनु अघि नै दुई पटक गरेर गाउँपालिकाले एक करोड ८० लाख रकम भुक्तानी गरेको हो।
सार्वजनिक खरिद ऐन अनुसार पेस्की दिँदा पहिलो पटकमा स्वीकृत पेस्की रकमका आधामा नबढ्ने गरी र बाँकी रकम कार्य प्रगतिका आधारमा मात्रै दिनुपर्ने प्रावधान छ।
अस्पताल निर्माणका लागि बुद्ध/ड्रेगन/बस्नेत जेभी सँग २०७८ जेठ १७ मा सम्झौता भए पनि पप्पु कन्स्ट्रक्सनले काम गरिरहेको छ ।
निर्माण कम्पनीले दोस्रो पेस्की रकम लिएको ३ महिनापछि गाउँपालिका कार्यालयले बैंकलाई पत्राचार गरी हालसम्म कार्यस्थलमा कुनै किसिमको कार्य प्रगति नदेखिएकाले कार्यालयका नाममा निर्माण कम्पनीका तर्फबाट बैंकबाट जारी ‘एडभान्स पेमेन्ट ग्यारेन्टी’ मध्ये आधा रकम जफत गरिदिन अनुरोध गरेको छ। गाउँपालिकाले कात्तिक १० मा प्राइम कमर्सियल बैंक लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंमा पत्राचार गरी ‘एडभान्स पेमेन्ट ग्यारेन्टी रकम’ जफत गरी गाउँपालिकाको खातामा जम्मा गरिदिन अनुरोध गरेसँगै काम शुरु नभइ पेश्की रकम दिइएको खुलेको हो।
गाउँपालिकाले बैंकमा पत्र पठाएपछि कात्तिक ३० गते ठेकेदार कम्पनीले निर्माण स्थलमा स्काभेटर लगेर शिलान्यास गरी काम गरेजस्तो मात्र देखाएको स्थानीयले बताएका छन्।