काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपालको निजी क्षेत्रलाई डिजिटल पूर्वाधार विकासमा समेत सहभागि गराउन जरुरी रहेको बताएका छन् । शनिवार ललितपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भट्टराईले विद्यमान कानून र थप आवश्यक कानून निर्माण गरेर निजी क्षेत्रलाई डिजिटल क्षेत्रमा सहभागि गराउनुपर्नेमा जोड दिएका हुन् ।
उनले शिक्षा र स्वास्थ्य क्षेत्र सरकारले मात्रै हेर्ने तथा अन्य क्षेत्रमा पीपीपी मोडलमा जानुपर्ने आवश्यकता औँल्याए । उनले सरकारले विगतमा बिजुली उत्पादनमा जोड दिएपनि ट्रान्समिसन लाइन विस्तारमा ध्यान नदिँदा विद्युत प्रवाह गर्न समस्या भइरहेको उल्लेख गरे । निजी क्षेत्रलाई काम गर्ने वातावरण र लगानीको सुरक्षित गर्ने दिशामा अघि बढ्दै हरेक क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्यमा अगाडि बढ्नुपर्ने बताए ।
उनले भने– ‘नेपालको निजी क्षेत्र अब विस्तारै अर्थतन्त्रको बलियो एउटा खम्बाको रुपमा उभिँदै गएको छ । त्यसलाई अब हामीले डिजिटल इन्फास्ट्रक्चरमा पनि कसरी ल्याउने भनेर सोच्नुपर्ने छ । त्यसको लागि आवश्यक कानूनहरु बनेका छन् । त्यो ढंगले पनि ल्याउन सकिन्छ । त्यसको निति पिपिपी मोडेलका कानुनहरु छन् । अब हामी के भन्दै छौँ भने राज्यको फोकस विशेष गरी शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा ध्यान दिनेगरी जाउँ । अरु क्षेत्रमा निजी क्षेत्रसँग मिलेर नै काम गर्नुपर्छ जस्तो मलाई लाग्छ ।’