काठमाडौं । ऊर्जासम्बन्धी आयोजनाहरूको मूल्यांकन गर्न सुशासन एकाइ गठन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा सुशासन एकाइ गठन गरिएको हो ।
मन्त्रालयका अनुसार एकाइले विशेषगरी ‘डेलिभरीमा आधारित शासन प्रणाली’ अन्तर्गत मन्त्रालयले निर्धारण गरेका कार्यहरू तोकिएको समय सीमाभित्र सम्पन्न भए नभएको हेर्नेछ ।
जिम्मेवार अधिकारीहरूले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गरेरनगरेको तथा कार्यसम्पादन सूचकहरूको कार्यान्वयन अवस्थाका विषयमा निगरानी गर्नेछ ।
कर्मचारीहरूको कार्यविवरण अनुसार कामको प्रगति, कानुनी समय सीमाको पालना तथा सरकारी स्रोत साधनको सदुपयोगको अवस्थाबारे पनि मूल्यांकन गर्नेछ ।
गत १३ चैतमा बसेको मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीमा उल्लेखित विषयको प्रभावकारी कार्यान्वयनका लागि यो कार्य भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले बताएका छन् ।
चैत महिनाको आफ्नो कार्यप्रगति सार्वजनिक गर्दै उनले नीतिगत सुधारका विषयका अतिरिक्त मातहतका निकायलाई परिचालन गर्दै आएको उल्लेख गरेका छन् ।