स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सुदूरपश्चिम प्रदेश जलविद्युत् उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त भए पनि विभिन्न अवरोधका कारण अपेक्षित प्रगति हुन नसकेको बताएका छन्।
जलविद्युत् सम्भावना र चुनौतीबारे आयोजित कार्यक्रममा बोल्दै उनले पूर्वाधार अभाव, नीतिगत जटिलता र वनसम्बन्धी कानुनी अड्चन मुख्य समस्या रहेको उल्लेख गरे। उनका अनुसार सुदूरपश्चिममा मात्रै २० प्रतिशतभन्दा बढी जलविद्युत् सम्भावना रहेको छ र त्यहाँ उत्पादन हुने ऊर्जा भारत निर्यात गर्न पनि सहज हुने देखिन्छ।
हाल देशको करिब ८५ प्रतिशत विद्युत् उत्पादन निजी क्षेत्रबाट भइरहेको जानकारी दिँदै कार्कीले ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। साथै, प्रसारण लाइन र सडक पूर्वाधार विस्तार नगरेसम्म आयोजना निर्माण र विद्युत् बिक्रीमा समस्या रहने उनले बताए।