दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण गर्ने उद्देश्यले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले तीन वर्ष पहिले सुरु गरेकोे सहलगानीअन्तर्गत बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुरमा ल्याउन सञ्चालित आयोजना सफल हुन थप छ महिना लाग्ने भएको छ ।
हालसम्म आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत् जडान तथा होमकनेक्सनलगायत काम बाँकी रहेकाले थप छ महिना समय लाग्ने संस्थाका अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिए। उनका अनुसार अहिले पछिल्लो चरणमा निर्माणको जिम्मा पाएका ठेकेदारले निर्माण सामग्रीको मूल्य बढेको भन्दै काम रोकेकाले केही समय ढिलाइ भएको हो ।
अध्यक्ष भण्डारीले भने, “हामीले निर्माण कम्पनीलाई काम सञ्चालन गर्न ताकेता गरिरहेका छौँ । सम्भवत अब यथाशीघ्र कामले निरन्तरता पाउने छ ।” उनका अनुसार रु ५६ करोड ८० लाख २४ हजार ६३० लागतमा उक्त आयोजना सम्पन्न हुनेगरी काम अघि बढेको हो । सो आयोजनाअन्र्तगत बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुर ल्याइने छ ।
हालसम्म पानीका लागि नयाँ पाइप जडान, विभिन्न ठाउँमा एक दर्जन बढी ट्याङ्की निर्माणलगायत काम सम्पन्न भइसकेका अध्यक्ष भण्डारीले जानकारी दिए । तुलसीपुरमा एउटा भण्डारण ट्याङ्की निर्माण अन्तिम चरणमा पुगेको छ । पुराना पाइपलाइनको मर्मत पनि सम्पन्न भइसकेका छन् ।
यो आयोजना पूरा भएपछि १०० लिटरप्रति सेकेण्ड पानीको आपूर्ति सम्भव हुने अध्यक्ष भण्डारीले उल्लेख गरे । जसले तुलसीपुरस्थित नयाँ बसपार्क, रानीजरुवा, तुलसीपुर उपमहानगरपालिका–६ का विभिन्न गाउँलगायत क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राहत पुग्ने उहाँले विश्वास व्यक्त गरे ।
त्यसैगरी संस्थाले खानेपानीको प्रमुख मुहान रहेको क्षेत्रहरू मुलकोट, राम्री, चिसापानी, घेरेनी, बाख्रे, छरछरे र पहरेमा हुने अनधिकृत उत्खननलाई रोक्न तथा मुहानको संरक्षणका लागि पहल गरिरहेको उपाध्यक्ष नारायणप्रसाद शर्माले बताए। उनका अनुसार संस्थाले रक्षाचौर ट्रिटमेन्ट प्लान्टमा रहेको पुरानो बालुवा तथा गिट्टी प्रतिस्थापन गरेको छ ।