बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि यहाँका किसान खुसी हुन थालेका छन् । राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाले मर्मतसम्भारको समयावधिबाहेक किसानको मागअनुसार बाहै्र महिना नहरमा नियमित पानी छोड्ने गरेको छ ।
किसानको मागअनुसार सिंँचाइको अभाव हुन नदिन नहरमा बाहै्र महिना नियमित पानी छोड्दै आएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहले जानकारी दिए ।
राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएको आयोजनाले हालसम्म २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष रुपमा नियमित सिँचाइ सुविधा पु¥याएको छ ।
विगतमा आकाशे पानीको भरमा धानखेती गर्दै आएका राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका किसानले सिँचाइको नियमित सुविधा पुगेपछि अहिले समयमै धानको बीउ राख्न पाएका छन् ।