सङ्खुवासभा । बाढीबाट मकालु गाउँपालिकामा निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा ठूलो क्षति पुगेको छ । मकालु गाउँपालिकामा असार ८ गते आएको बाढीपहिरोले निर्माणाधीन जलविद्युत् आयोजनादेखि स्थानीय बस्ती र पूर्वाधारसम्म व्यापक क्षति पुर्याएको छ।
अविरल वर्षापछि आएको बाढीले मकालु–२ मा निर्माणाधीन ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत् आयोजनाको ड्यामसाइटमा पसेर ठूलो नोक्सानी गरेको छ। बाढीले निर्माणमा प्रयोग भइरहेका लोडर, मिक्स्चर, कङ्क्रिट पम्प मेसिन, करिब ६० टन रड र ५०० बोरा सिमेन्ट बगाएको आयोजनाले जनाएको छ।
यस्तै, इसुवा हाइड्रोपावर परियोजना पनि बाढीपहिरोबाट प्रभावित भएको छ। सताङदेखि ड्यामसाइट जोड्ने सडकका विभिन्न भागमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ भने आयोजनाका पाइपलाइन र अन्य संरचनामा समेत क्षति पुगेको छ।
प्राकृतिक विपत्तिले स्थानीय बस्तीलाई पनि असर गरेको छ। मकालु–१ मा दुई परिवारका घर पहिरोको उच्च जोखिममा परेका छन् भने सिंहेश्वरी आधारभूत विद्यालयसमेत जोखिममा परेको छ।
बाढीले इसुवाखोलामा रहेको झोलुङ्गे पुल, सार्वजनिक पानीघट्टा र चार वटा काठे पुल बगाएपछि स्थानीयको दैनिक आवतजावत कष्टकर बनेको छ।