रसुवा । बाढीले क्षति पुर्याएको बेतेगौँडा सिँचाइ आयोजना लिफ्ट प्रणालीमार्फत पुनःसञ्चालनमा आएको छ । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको आयोजना पुन संचालनमा आएपछि उत्तरगया गाउँपालिकाका किसान लाभान्वित भएका छन् ।
उत्तरगया गाउँपालिका(५ स्थित त्रिशूली नदीबाट खनिएको बेतेगौँडा, पहिरेबेँसी कैदलटार सिँचाइ आयोजना बाढीका कारण अवरुद्ध भएपछि सो क्षेत्रमा निर्माणाधीन ३७ दशमलव तीन मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाले पानी तान्ने उपकरण उपलब्ध गराएको हो । बाढीले तीन सय मिटरभन्दा बढी भूभाग क्षति पुर्याएको थियो ।
उक्त उपकरणको सहायताले पहिरेबेँसी, कैदलटारलगायत क्षेत्रका हजारौँ रोपनी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको उत्तरगया गाउँपालिका–४ का वडाध्यक्ष अम्मरबहादुर बुलुनले जानकारी दिए । बेतेगौँडा सिँचाइ आयोजना तत्कालीन सार्वजनिक निर्माण शाखाअन्तर्गत रसुवा–नुवाकोट ग्रामीण विकास परियोजनामार्फत निर्माण गराइएको थियो ।