दमौली। नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोरअन्तर्गत मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनमा आगामी असार २३ गतेदेखि विद्युत् परीक्षण सेवा सुरु गर्ने भएको छ। निर्माण सम्पन्न भएसँगै तनहुँको मार्कीचोकस्थित न्यू मस्र्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म परीक्षणका रूपमा विद्युत् प्रवाह गरिनेछ।
युरोपियन बैंकको ऋण सहयोग तथा नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको यो प्रसारण लाइन राष्ट्रिय प्रसारण प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चालनमा ल्याउन लागिएको हो।
प्राधिकरणले परीक्षण अवधिमा प्रसारण लाइन र टावर उच्च जोखिमयुक्त हुने भएकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। टावरमा नचढ्न, कुनै वस्तुले नछुन, वरपर अनावश्यक रूपमा नजान तथा चौपायालाई टावर नजिक चराउन वा छाड्न नदिन अनुरोध गरिएको छ।
यो प्रसारण लाइन तनहुँ, गोरखा र चितवनका विभिन्न क्षेत्र हुँदै गुज्रिनेछ। निर्माणमा ढिलाइ भएपछि निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको पहलमा ‘सब–कन्ट्र्याक्ट’मार्फत काम सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ।