काठमाडौं । सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको मुख्य अवरोध हटाएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले मकवानपुरमा पर्ने राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिएको हो।
निर्णयअनुसार हेटौँडाको रातोमाटे र बकैयास्थित सामुदायिक वनअन्तर्गत करिब २।२ हेक्टर वन क्षेत्र प्रयोग गर्न र १ हजार २९२ वटा रुख कटान गर्न स्वीकृति दिइएको छ। वन क्षेत्रको अनुमति नपाउँदा यो आयोजना लामो समयदेखि रोकिएको थियो।
करिब ३०० किलोमिटर लामो ढल्केबर–हेटौँडा–इनरुवा करिडोर सञ्चालनमा आएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सहज हुने, विद्युत् प्रणालीको विश्वसनीयता बढ्ने र ट्रिपिङको समस्या घट्ने अपेक्षा गरिएको छ।
ऊर्जा मन्त्रालयका अनुसार यो प्रसारण लाइनले नेपालबाट भारततर्फ विद्युत् निर्यात क्षमता पनि उल्लेख्य रूपमा बढाउनेछ। हाल करिब एक हजार मेगावाट रहेको निर्यात क्षमता भविष्यमा दुई हजार ५०० देखि तीन हजार मेगावाटसम्म पुर्याउन सकिने सरकारको विश्वास छ।