नेपाल आयल निगमले सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ, डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकासहितका मुख्य सहरमा अब पेट्रोल र डिजेलको मूल्य बराबर अर्थात् प्रतिलिटर २ सय रुपैयाँ पुगेको छ ।
यसअघि काठमाडौं, पोखरा र दिपायलजस्ता तेस्रो वर्गका क्षेत्रमा पेट्रोल १ सय ९७ रुपैयाँ र डिजेल १ सय ९५ रुपैयाँ प्रतिलिटर थियो ।
त्यसैगरी आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ बढाएर २ सय ४९ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १ सय ३१ अमेरिकी डलरले मूल्य बढाइएको छ भने पोखरा र भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि नाफा–नोक्सानरहित मूल्यमा बिक्री गर्ने निर्णय गरिएको छ । यता, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर २ हजार ६० रुपैयाँमै यथावत राखिएको छ ।
तर मूल्य बढाउँदा पनि निगम घाटामै रहेको दाबी गरिएको छ । मूल्य बढाएर आकाश छुँदा समेत निगमलाई प्रत्येक १५ दिनमा करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने निगमको दाबी छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको निरन्तरको मूल्यवृद्धिका कारण आर्थिक दबाब बढ्दै गएको भन्दै निगमले इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन सबै उपभोक्ता र सरोकारवालासँग विशेष आग्रह समेत गरेको छ ।