काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरू हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका छन् । नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे मंगलबार अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले यस्तो धारणा राखेका हुन् ।
उनले बैंकहरूका समस्या सुन्न, समाधानका लागि सरकारी पहलकदमी लिन र सरकारको आर्थिक वृद्धिको फराकिलो उद्देश्य प्राप्तिका लागि हातेमालो गर्न मन्त्रालयले छलफल आयोजना गरेको स्पष्ट पारे। बैंक र बैंकरहरूलाई आफ्नो क्षेत्रको समस्या निर्धक्क भएर भन्न आग्रह गर्दै उनले सरकारले इमानदारीपूर्वक समस्याहरूको समाधान गर्ने पनि स्पष्ट पारे ।
‘अर्थतन्त्रको विस्तारका लागि आर्थिक राजकाजको जहाज मोडेका छौँ,’ अर्थमन्त्री वाग्लेले बैंकरहरूलाई भने, ‘अर्थतन्त्रको आकार ७४ खर्बको बनाउने लक्ष्य छ । यसका लागि लगानी बढाउनुपर्छ। रोजगारी सिर्जना गर्नु छ । तपाईँहरूले कसरी सहयोग गर्न सक्नुहुन्छ, योगदान गर्नुहोस्। सरकारले पनि कहाँ—कहाँ के—के गर्नुपर्ने हो, भन्नुहोस् ।’ उनले बैंकहरूले कर्जा विस्तार गर्न नसक्नुको कारण के हो भन्दै बैंकरहरूलाई प्रश्नसमेत गरे ।
‘बैंकहरूले कर्जा विस्तारमा के समस्या भइरहेको छरु सरकारले केही गर्नुपर्ने अवस्था छ भने भन्नुहोस् । हामी सहजीकरण गर्छौँ ।’ अर्थमन्त्री वाग्लेले बैंकरहरूलाई बैंकले भोगिरहेका नीतिगत र व्यावहारिक कठिनाइहरूलाई एकीकृत रूपमा मन्त्रालयमा पेस गर्न अनुरोध गर्दै त्यसको समाधान खोजिने स्पष्ट पारे ।
छलफलमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले लगानीको वातावरण नभएको भन्ने बाहिरी हल्लामा सत्यता नरहेको प्रस्ट पारे । उनीहरूले बैङ्किङ क्षेत्रलाई अहिले केही पुराना नियामकिय उपचारहरूले स्वाभाविक रूपमा अप्ठ्यारो परिस्थितिमा पु¥याएको तर त्यो समाधान गर्न सकिने खालको रहेको बताए ।
जलविद्युत् क्षेत्रमा लगानीका लागि बैंकहरूबिच प्रतिस्पर्धा चलिरहेको भन्दै बैंकरहरूले अन्य क्षेत्रमा पनि बिस्तारै माग बढ्ने संकेत देखिएको बताउनुभयो । केही सहजीकरणको कामहरू सरकारले र राष्ट्र बैंकले तत्काल गर्नुपर्ने खालका रहेका भन्दै उनीहरूले त्यसले अर्थतन्त्रलाई चलायमान बनाउने बताए ।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जलविद्युत् क्षेत्रमा बढेको लगानीको आकर्षणलाई थप सहजीकरण गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराए ।
ठूला परियोजनाहरूलाई समयमै सक्ने गरी सरकारले काम गर्नुपर्ने सुझाव दिँदै उनले साना—ठूला व्यवसायीलाई विश्वासमा लिएर सरकारले काम गर्नुपर्ने बताए । सिटिजन्म इन्टरनेसनल बैंकका कार्यकारी अधिकृत गणेश पोखरेलले बैङ्किङ क्षेत्रको अहिलेको सुस्ततालाई नियमित र एउटा चक्रको रूपमा बुझ्नुपर्ने बताए ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले बजारमा व्यवसायीको आत्मविश्वासमा आएको कमीलाई सम्बोधन गर्न आग्रह गरे ।
उनले बैंकको ऋण दिने क्षमता वृद्धि गर्न राष्ट्र बैंकले नीतिगत सहजीकरण गर्नुपर्ने बताए । सरकारले स्थापना गर्ने भनेको गैरबैंकिङ सम्पत्ति व्यवस्थापन कम्पनी छिट्टै खुल्नेमा उहाँले विश्वास व्यक्त गरे ।
एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले कर्जा विस्तार ग्रामीण तथा विपन्न वर्गसम्म लैजानुपर्नेमा जोड दिए । सरकारले पुँजीगत खर्च बढाउनुपर्ने भन्दै उहाँले अर्थतन्त्र चलायमान गराउने सरकारी कार्यालयहरूको क्षमता अभिवृद्धिमा जोड दिए ।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले उद्योगी—व्यवसायीहरू नयाँ आर्थिक वर्षमा लगानीका लागि उत्सुक रहेको बताए ।