यदि तपाईं झापा, इलाम, पाँचथर, ताप्लेजुङ वा मोरङको उर्लाबारी–पथरी क्षेत्रमा बसोबास गर्नुहुन्छ भने शनिबारका लागि आवश्यक तयारी गर्नुस्। नेपाल विद्युत् प्राधिकरणले प्राविधिक कामका कारण ती क्षेत्रमा करिब १२ घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।
प्राधिकरणका अनुसार मोरङको केरौनस्थित १३२/३३ केभी सबस्टेशनका उपकरण परीक्षण तथा दुहबी–दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत केरौनमा डेड एन्ड टावर जडानको काम गर्न शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।
यस अवधिमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ। साथै मोरङको उर्लाबारी, पथरी तथा आसपासका क्षेत्र पनि विद्युत् कटौतीको प्रभावमा पर्नेछन्।
नेपाल विद्युत् प्राधिकरणले निर्धारित प्राविधिक काम सकिएलगत्तै विद्युत् सेवा पुनः सञ्चालन गरिने जनाएको छ। यदि काम तोकिएको समयभन्दा अगावै सम्पन्न भयो भने विद्युत् आपूर्ति पनि सोहीअनुसार छिट्टै सुचारु गरिने प्राधिकरणको भनाइ छ।
विद्युत् अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गर्दै आवश्यक तयारी गर्न सबै उपभोक्तालाई आग्रह गरेको छ।