वीरगन्जमा भारतबाट आईसीपी जाँचपास गरेर नेपाल प्रवेश गरेको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गरिरहेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार साँझ वीरगन्ज महानगरपालिका–१४ बाइपासस्थित सौदागर आयल सेन्टरमा ट्याङ्करको सिल खोल्दै फलामको हुक प्रयोग गरेर तेल निकालिरहेको अवस्थामा उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा पेट्रोल पम्पका सञ्चालक, लेखा कर्मचारी, क्यासियर तथा दुई ट्याङ्करका चालक र सहचालक रहेका छन्। प्रहरीले घटनामा प्रयोग भएका ट्याङ्करसहित सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।