म्याग्दी । म्याग्दीको बहुप्रतीक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको आयोजनाको भौतिक निर्माण तथा उपकरण जडानको काम पूरा भएको हो।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार बाँध, डिसेन्डर, मुख्य सुरुङ र स्विचयार्डको परीक्षण सफल भइसकेको छ। २० मेगावाट क्षमताको एउटा युनिटको परीक्षण सम्पन्न भइसकेको छ भने अर्को युनिटको परीक्षण पनि सुरु भएको छ। परीक्षण एक सातादेखि १० दिनभित्र पूरा गरी विद्युत् उत्पादन थाल्ने तयारी छ।
रघुगङ्गा–४ दग्नाम र वडा नं। ५ झिँको फेदीमा बाँध निर्माण गरिएको छ। आयोजनाको ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा दुईवटा पानी थिग्र्याउने पोखरीको परीक्षणसमेत सम्पन्न भएको छ।
आयोजनाको विद्युत् २२० केभी क्षमताको दाना–कुश्मा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। प्रसारण लाइनका चार टावरसमेत निर्माण भइसकेका छन्।
कोरोना महामारी, बाढी, पहिरो र निर्माण सामग्री अभावका कारण आयोजना निर्माणमा लामो समय लागेको हो। सुरुमा पुरानो ठेकेदारसँगको सम्झौता तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो।
म्याग्दी उद्योग वाणिज्य संघले राहुघाटलाई जिल्लाको जलविद्युत् विकासको ‘गेटवे’ मान्दै आएको छ। करिब दुई दशकको प्रतीक्षापछि आयोजना सम्पन्न हुन लागेको भन्दै स्थानीय व्यवसायीले उत्साह व्यक्त गरेका छन्।