नेपाल विद्युत प्राधिकरणले त्रिशूली ३ ए जलविद्युत आयोजनाको सुरूङमा थुनिएका श्रमिक तथा कर्मचारीहरू अझै उद्धार गर्न नसकेको जनाएको छ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सुरक्षा निकायसँगको समन्वयमा पटक पटक प्रयास गर्दा पनि उद्धार गर्न नसकिएको बताए।
उनका अनुसार उक्त आयोजनामा ४० देखि ४५ जना हाराहारीमा कर्मचारी तथा श्रमिकहरू उद्धारको पर्खाइमा छन्।
शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै श्रेष्ठले उद्धारका लागि उच्चस्तरीय समन्वयमा काम भइरहेको तर भौगोलिक जटिलताका कारण उद्धार गर्न नसकिएको बताए।
-त्यहाँ सेनाले प्रयास गर्यो। सफल हुन सकेन। एक्सेस टनेलबाट सकिन्छ कि भनेर पनि प्रयास गरियो तर त्यो प्रयास पनि विफल भएको छ। विभिन्न प्रयासका बाबजुद पनि उद्धार गर्न सकेका छैनौं। साइटमा विभिन्न विज्ञ खटाएर तथा एस्काभेटर पठाएर उद्धारको काम गर्ने प्रयास भइरहेको छ,- उनले भने।