काठमाडौं । रसुवास्थित २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरूङमा उद्दारका लागि गएको नेपाली सेनासहितको टोली फर्किएको छ । फसेको भनिएका करिब २५ जनाको उद्धारका लागि खटिएको नेपाली सेना सहितको टोली फिर्ता भएको हो।
सुरूङभित्र ठूला–ठूला ढुंगा भेटिएपछि थप उपकरण र प्राविधिक व्यवस्थाको आवश्यकता देखिएको सेनाले जनाएको छ । अब कम्पनीले आफ्नै प्राविधिक टोली परिचालन गरेर उद्धारको काम अघि बढाउने जानकारी दिएको छ।
आयोजनाका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार उद्धारको काम बिहानदेखि सुरू भए पनि करिब १०० मिटर मात्रै सुरूङभित्र प्रवेश गर्न सकिएको जानकारी दिए।
कुल करिब १५० मिटरभित्र जानुपर्ने भए पनि बाटोमा ठूला–ठूला ढुंगा भेटिएपछि उद्धारमा कठिनाइ भएको उनले बताए। ती ढुंगा हटाउन विशेष उपकरण वा थप व्यवस्थापन आवश्यक पर्ने उनको भनाइ छ।