सुर्खेत । नेपाल विद्युत् प्राधिकरणको हेल्दुङ वितरण केन्द्रअन्तर्गतको पावर हाउसमा समस्या आएपछि हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ।
पावर हाउसको युनिट–९ को गभर्नरमा समस्या आएपछि भदौ १६ गतेदेखि विद्युत् आपूर्ति बन्द भएको हो। विद्युत् नहुँदा सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य संस्था, बैंक, सञ्चारमाध्यम र व्यवसायसँगै सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ।
लामो समय विद्युत् नहुँदा मोबाइल चार्ज गर्न तथा इन्टरनेट चलाउनसमेत समस्या भएको स्थानीयले बताएका छन्। तत्काल समस्या समाधान नभए डिजेल प्लान्ट सञ्चालन गरी विद्युत् आपूर्ति सुचारु गर्न पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारसँग आग्रह गरेका छन्।
प्राधिकरणले जनशक्तिबाट तत्काल समस्या समाधान गर्न नसकिएको जनाएको छ। डिजेल प्लान्ट सञ्चालनमा मासिक १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने र उक्त रकम कार्यालयसँग नभएकाले पनि समस्या भएको बताइएको छ।