म्याग्दी । म्याग्दीमा पछिल्लो एक वर्षमा ७ सय घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न क्षेत्रमा ७ सय नयाँ ग्राहक थपिएका हुन्।
धवलागिरिको मल्कवाङ, खोरिया, लमसुङ, फलियागाउँ तथा मालिकाको महभिरलगायत क्षेत्रमा विद्युत् विस्तार भएको केन्द्रका प्रमुख सत्यनारायण गामीले जानकारी दिए। विद्युत् पुगेपछि स्थानीयलाई घरायसी काम, अध्ययन तथा उद्यम–व्यवसाय सञ्चालनमा सहज भएको छ।
नयाँ ग्राहक थपिएसँगै म्याग्दी वितरण केन्द्रअन्तर्गत २४ हजार ४९० विद्युत् ग्राहक पुगेका छन्। प्राधिकरणले जिल्लाका थप १४ स्थानका २ हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न २२ करोड रुपैयाँको योजना सञ्चालन गरिरहेको छ।
गत आर्थिक वर्षमा केन्द्रमार्फत १ करोड ८४ लाख ७३ हजार ७७९ युनिट विद्युत् खपत भएको थियो भने ९९ करोड ८५ लाख रुपैयाँभन्दा बढी महसुल संकलन भएको प्राधिकरणले जनाएको छ।