रसुवा । नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म १ हजार ३१३ जनाको उद्धार गरिए पनि ३ हजार ७१ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार उद्धार गरिएकामध्ये १ हजार २२७ नेपाली र ८६ विदेशी पर्यटक छन्। गोसाइँकुण्ड क्षेत्रमा अलपत्र १४५ जनालाई हेलिकप्टरमार्फत नुवाकोट र काठमाडौं सुरक्षित स्थानान्तरण गरिएको छ।
बाढीपहिरोमा परी फेला परेका १६३ शवमध्ये छ जनाको सनाखत भइसकेको छ भने बाँकीको सनाखत तथा डीएनए परीक्षणको प्रक्रिया भइरहेको छ।
बाढीले १ हजार ५०० निजी घर, ४१ किलोमिटर सडक, ६ पक्की पुल, ८ ट्रस तथा बेलिब्रिज र १० झोलुङ्गे पुलमा क्षति पुर्याएको छ। आठ जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन्।
विस्थापित ७ हजार ३३ जनालाई १२ वटा सुरक्षित आश्रयस्थलमा राखिएको छ। प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिएको प्रशासनले जनाएको छ।