ललितपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरका सबै खेतियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने बताएकी छन्।
गोदावरी नगरपालिकास्थित ‘भोर्ले कुलो मुहान निर्माण’को शिलान्यासका क्रममा मन्त्री भुसालले पानीको स्रोत पहिचान गरी लिफ्ट, बोरिङ तथा सतहको पानी प्रयोग गरेर सिँचाइ पुर्याइने बताएकी हुन्।
उनले भनिन्, ‘ललितपुरका सबै राजकुलोलाई मर्मत गर्छौँ। ललितपुरका खेतियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउँछौं।’ जिल्लाको उत्तर–पश्चिम गोदावरी–९ स्थित नख्खु खोला किनारमा आयोजित कार्यक्रममा मन्त्री भुसालले ललितपुरका खेतीयोग्य जमिनमा सिँचाइ उपलब्ध गराउने अभियानलाई जसरी पनि पूरा गर्ने बताइन्।
भोर्ले राजकुलो सिँचाइ प्रणालीको मुख्य स्रोत नख्खु खोला हो। यस सिँचाइ प्रणालीको मूल नहरको लम्बाइ करिव ७ किलोमिटर रहेको छ। बुङ्मतिदेखि छम्पीको टीकाभैरवसम्मका ४०० हेक्टर जमीन सिँचाइ हुने छ। यस सिँचाइ प्रणालीबाट करिव एक हजार १५४ घरधुरी अर्थात पाँच हजार २८४ जनसङ्ख्या लाभान्वित हुनेछन्।