काठमाडौँ । भोटेकोशी बाढीबाट विद्युत् पूर्वाधारमा क्षति पुगेपछि रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली परिचालन गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालन भइसकेको छ।
बाढी प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशूली–१ र मैलुङ खोलालगायत जलविद्युत् आयोजनामा खोज तथा उद्धारसँगै भग्नावशेष हटाउने काम जारी छ।
विद्युत् सेवा सञ्चालनमा समय लाग्ने रसुवाका थप १ हजार २ सय ६८ घरधुरी पहिचान गरी सौर्य प्रणाली वितरणको तयारी गरिएको मन्त्रालयले जनाएको छ। सडक अवरुद्ध भएका क्षेत्रमा हेलिकप्टरमार्फत सौर्य प्रणाली पुर्याउने व्यवस्था मिलाइएको प्रवक्ता मोहनकुमार शाक्यले जानकारी दिए।